जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको कसरत तीव्र भइरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मन्त्रीहरुले सरकारबाट राजिनामा दिएका छन् ।
पार्टीको निर्णयसँगै सरकारमा सहभागी नेकपाका चार मन्त्रीले आजै राजीनामा दिएका छन् । मन्त्रीहरुले मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई वाह्ट्सफ मा राजिनामा पत्र पठाएका छन् ।

नेकपा संसदीय दलको केहीबेरअघि सम्पन्न भर्चुअल बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि बसेको बैठकले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको थियो ।
पार्टीको निर्णय अनुसार चारै जना मन्त्रीले राजीना दिएको गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जानकारी दिए । उनले पार्टीको उच्च नेतृत्वबाट निर्देशन आएकाले आफुहरु राजिनामा दिएको बताए ।
मधेश प्रदेश सरकारमा नेकपाबाट अर्थमन्त्री तथा संसदीय दलका नेता युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहा सहभागी थिए ।
३० असोजमा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो । त्यसयता नेकपाले कांग्रेस नेतृत्वको सरकारलाई साथ दिँदै आएको थियो । तर, पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेकपाले पनि सरकार छाड्ने निर्णय गरेपछि सरकार थप संकटमा परेको छ । सरकारले विश्वासको मत लिन अब आठ दिन मात्रै बाँकी छ ।





