LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । मोहम्मद डे (ईद मिलादुन्नबी) को अवसरमा बुधबार जनकपुरधाममा शान्ति र्‍याली निकालिएको छ। धार्मिक सहिष्णुता, आपसी भाइचारा, सामाजिक सद्भाव तथा शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले निकालिएको र्‍यालीमा मुस्लिम समुदायका व्यक्तिहरूको उल्लेनिय सहभागिता रहेको थियो।

जनकपुरधामको तिरहुतिया गाछीबाट बुधबार दिउँसो निकालिएको र्‍याली नगरका विभिन्न भागको परिक्रमा गर्दै पुनः निर्धारित स्थानमा पुगेको थियो। सहभागीहरूले धार्मिक सद्भाव, सामाजिक एकता र शान्तिको पक्षमा नारासहित र्‍यालीमा सहभागिता जनाएका थिए।

र्‍यालीलाई सम्बोधन गर्दै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले आपसी धार्मिक सहिष्णुता र भाइचाराको भावनाले मात्रै देश तथा प्रदेशको विकास सम्भव हुने बताए। विभिन्न धर्म र समुदायबीचको एकता तथा सद्भावलाई अझ मजबुत बनाउनुपर्नेमा उनले जोड दिए।

मोहम्मद डेका अवसरमा सबै मुस्लिम समुदाय तथा शुभेच्छुकहरूलाई शुभकामना व्यक्त गर्दै पूर्वमुख्यमन्त्री यादवले मदरसा शिक्षालाई राज्यको मूलधारको शिक्षासँग जोड्नुपर्ने धारणा राखे। आफू मुख्यमन्त्री हुँदा मदरसा शिक्षासम्बन्धी विधेयक प्रदेशसभामा लगेको स्मरण गराउँदै उनले मदरसा शिक्षालाई व्यवस्थित र राज्यको शैक्षिक प्रणालीसँग समन्वय गर्न आवश्यक रहेको बताए।

राज्यले मदरसा शिक्षालाई अपनत्व नदिँदा मुस्लिम समुदायबाहेक अन्य समुदायमा मदरसाका विषयमा नकारात्मक धारणा विकास भएको उनको भनाइ थियो। मदरसा शिक्षालाई मूलधारमा ल्याएर त्यसमा अध्ययनरत विद्यार्थीलाई पनि समान शैक्षिक अवसर प्रदान गर्नुपर्ने उनले बताए।

पूर्वमुख्यमन्त्री यादवले मोहम्मद डेका अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक बिदा नदिएकोप्रति असन्तुष्टि जनाउँदै प्रदेश सरकारको निर्णय गलत भएको टिप्पणी गरे। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको दिवसमा विगतमा दिइँदै आएको सार्वजनिक बिदालाई निरन्तरता दिनुपर्ने उनको धारणा थियो।

कार्यक्रममा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिरलगायत विभिन्न राजनीतिक दलका नेता, सामाजिक अगुवा, धार्मिक व्यक्तित्व तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

र्‍यालीका क्रममा मन्सुरी एकता मञ्च नेपालले सहभागी तथा सर्वसाधारणका लागि निःशुल्क पानी वितरण गरेको थियो। मञ्चका अध्यक्ष जाल मोहम्मद मन्सुरीका अनुसार र्‍यालीमा सहभागी हुने तथा बाटोमा आवतजावत गर्ने सर्वसाधारणलाई लक्षित गरी पानी वितरण गरिएको हो।

मोहम्मद डेका अवसरमा आयोजित शान्ति र्‍यालीले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक विविधताबीचको सहअस्तित्व, आपसी सम्मान र सामाजिक सद्भावको सन्देश दिएको आयोजकहरूको भनाइ छ। कार्यक्रममा सहभागीहरूले धार्मिक आस्थाभन्दा माथि उठेर सबै समुदायबीच भाइचारा र सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिएका थिए।

सम्बन्धित खबर