जनकपुरधाम । परम्परागत खेतीमा मात्र निर्भर रहँदा अपेक्षित आम्दानी गर्न कठिन हुने भएकाले धनुषाका किसानलाई खेतीसँगै कृषि आधारित व्यवसायमा जोड्न सरोकारवालाले सुझाव दिएका छन्। अदुवा, बेसार, मोरिंगा, च्याउ, मसला उद्योग, मौरीपालन तथा वर्मी कम्पोस्ट मल उत्पादनजस्ता जलवायु मैत्री कृषि व्यवसाय कम लगानीमै सञ्चालन गरेर राम्रो आम्दानी गर्न सकिने एक अध्ययनले देखाएको छ।
प्रकृतिमा आधारित स्थानीय कृषि खाद्य प्रणालीका लागि नागरिक समाज ९दिगो कृषि० परियोजनाअन्तर्गत जनचेतना अभियान नेपालले धनुषाको शहीदनगर नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र जनकनन्दनी गाउँपालिकामा गरेको सर्वेक्षणबाट यस्तो सम्भावना औँल्याइएको हो।

सर्वेक्षणका क्रममा तीनवटै पालिकाका २५४ घरधुरीमा पुगेर कृषि, उत्पादन, बजार तथा कृषि व्यवसायको सम्भावनाबारे अध्ययन गरिएको सर्वेक्षण टोलीका संयोजक पुरुषोत्तम गुप्ताले जानकारी दिए। उनका अनुसार स्थानीय स्रोत र सम्भावनाका आधारमा जलवायु मैत्री कृषि तथा कृषि उद्यमलाई विस्तार गर्न सकिने देखिएको छ।
डब्लुएचएच (वेल्ट हंगर हिल्फे) को आर्थिक सहयोगमा जनचेतना अभियान नेपालले मंगलबार जनकपुरधाममा आयोजना गरेको छलफल कार्यक्रममा सर्वेक्षणबाट प्राप्त निष्कर्षमाथि सरोकारवालासँग सुझाव तथा सहमति लिइएको थियो।

सर्वेक्षण टोलीमा सहभागी जनचेतना अभियान नेपालका जितेन्द्र रायले परम्परागत खेतीको विकल्प वा त्यसको सहायक व्यवसायका रूपमा अदुवा, बेसार, मोरिंगा, च्याउ, मसला प्रशोधन, मौरीपालन र वर्मी कम्पोस्ट मल उत्पादनलाई विस्तार गर्न सकिने बताए। उनले यस्ता व्यवसायले किसानको आम्दानी बढाउनुका साथै तुलनात्मक रूपमा कम लगानीमै सुरु गर्न सकिने जानकारी दिए।
परियोजनाअन्तर्गत स्थानीय उत्पादनको उपभोग बढाउन जनचेतना फैलाउनेदेखि कम लगानीमा कृषि व्यवसाय सञ्चालन गर्न किसानलाई आवश्यक तालिमसमेत प्रदान गरिएको बताइएको छ। जनचेतना अभियान नेपालका कार्यकारी निर्देशक सुनिल कुमार यादवले परियोजनामार्फत ९० जना किसानलाई आर्थिक सहयोग उपलब्ध गराएर कृषि आधारित उद्यमी बनाउने लक्ष्य रहेको जानकारी दिए।
छलफलमा सहभागी गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादवले नेपाललाई कृषि प्रधान देश भनिए पनि उत्पादनको कमीका कारण विदेशी कृषि उपजमा निर्भर हुनुपरेको बताए। उत्पादन वृद्धि गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले कृषि क्षेत्रमा प्रभावकारी लगानी बढाउनुपर्नेमा उनले जोड दिए।
उनले कृषि उत्पादन बढाउन सिँचाइ सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै सिँचाइ पूर्वाधारमा लगानी बढाउन आग्रह गरे। साथै सरकारले कृषि उपजको समयमै मूल्य निर्धारण नगर्दा किसानले उत्पादनको उचित मूल्य नपाउने गरेको भन्दै बजार मूल्य निर्धारणमा सरकार गम्भीर हुनुपर्ने बताए।
शहीदनगर नगरपालिकाकी उपप्रमुख सुनिता कुमारी सिंहले किसानलाई उत्पादनमा मात्र सीमित नराखी उनीहरूले उत्पादन गरेका वस्तुको बिक्रीका लागि व्यवस्थित बजारको सुनिश्चितता गर्नुपर्ने बताइन्।
कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डल, कृषि ज्ञान केन्द्र धनुषाका प्रदीप कुमार यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव फुलदेव पण्डितलगायत विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।






