LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |
काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रता उल्लंघनका घटना सार्वजनिक गरेको छ ।
मे २०२३ देखि मे २०२४ सम्मको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका ३४ वटा घटना भएको मिडिया एक्सन नेपालले जनाएको छ । ती घटनामा पत्रकारविरुद्धका धम्की, आक्रमण र उत्पीडनसमेत छन् । यी घटनाहरूमा शारीरिक आक्रमण, मौखिक दुर्व्यवहार, धम्की, गैरकानुनी गिरफ्तारी र उपकरण जफतसहितलाई समेटिएको छ ।
प्रतिवेदनले  पत्रकारिता पेशाबाट महिला पत्रकारहरूको चिन्ताजनक पलायनलाई पनि झल्काएको छ । यस अवधिमा २९ जना महिलाहरूले यो पेशा छोडेका छन् । यो समस्याले महिला पत्रकारहरूले कार्यस्थलमा सामना गर्ने चुनौती र जोखिमहरूलाई उजागर गरेको छ ।
महिला पत्रकारहरूले लैङ्गिक भेदभाव, यौन उत्पीडन र करिअर अघि बढाउँदा असमान अवसरहरूको पनि सामना गर्नु परेको प्रतिवेदनमा उल्लेख छ । यी घटनाले महिलासँगै सबै पत्रकारहरूका लागि सुरक्षित र थप समावेशी वातावरण सिर्जना गर्न सुधारको आवश्यकता देखाएको छ । प्रतिवेदनले नेपालका मिडिया हाउसभित्र श्रम अधिकार उल्लंघनलाई पनि उजागर गरेको छ ।
तलब नपाउने, पाए पनि समयमा नपाउने तथा नियक्ती पत्र सम्झौता कागजातहरूको अभावदेखि न्यायका लागि जटिल कानुनी प्रक्रिया र मिडिया मालिकबीचको समूहवादसम्म उल्लेख छन् । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन नहुनुले पत्रकारहरूलाई शोषण र दुर्व्यवहार, उनीहरूको स्वतन्त्रतामा हनन र पत्रकारिता पेशामै चुनौती थपिदिएको छ ।
पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनताका कारण समस्या भएको प्रतिवेदनमा उल्लेख छ । द्वन्द्वकालमा दर्ता भएका ३९ वटामध्ये पाँच वटामा मात्रै मुद्दा चलाइँदा थप चुनौती बढेको पाइएको छ ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग प्रभावकारी रूपमा न्याय दिन नसक्दा पीडित र तिनका परिवारहरू निराश भएका मिडिया एक्सनले जनाएको छ । मिडियामा पनि डर र दण्डहीनताको संस्कृति कायम रहेको उक्त संस्थाले जनाएको छ ।
कार्यक्रममा बोल्दै मिडिया एक्सन नेपालकी उपाध्यक्ष  प्रियंका झाले मिडियामा महिला सुरक्षा, प्रेस स्वतन्त्रता र समावेशिताका लागि सबैले मिलेर अघि बढ्नु पर्ने बताइन् ।
उक्त कार्यक्रमका प्रमुख अतिथि रहेका वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले पत्रकारहरू समाजको  मार्गदर्शन गर्ने तेस्रो आँखा भएको बताए । उनले आफूलाई मात्रै नभई अबको पिढीका लागि पनि वातावरण बचाउन  अनुरोध गरे । यसमा पत्रकारको भूमिका महत्वपूर्ण हुने पनि उनले जिकीर गरे ।
यसैगरी वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले पत्रकारहरूले आफ्नो अधिकार र दायित्व बुझ्दै जिम्मेवार नागरिकको भूमिका निभाउनु पर्ने बताए । युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्रफ्टले प्रेस स्वतन्त्र हुनुपर्ने र स्वतन्त्र प्रेसले मात्र लोकतन्त्रको रक्षा गर्ने बताए ।
मिडिया एक्सन नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा पत्रकारको अधिकार रक्षा गर्न, श्रमजीवी पत्रकार ऐन लागू गर्न र कार्यस्थलमा हुने लैङ्गिक भेदभाव तथा उत्पीडनलाई सम्बोधन गर्न आवश्यक रहेको जनाएको छ ।
 प्रतिवेदनले प्रेस स्वतन्त्रतालाई आधारभूत लोकतान्त्रिक सिद्धान्तका रूपमा कायम राख्न, सञ्चारमाध्यम र पत्रकारमाथिको स्वेच्छाचारी प्रतिबन्धबाट टाढा राख्न पनि भनेको छ । उक्त प्रतिवेदन मिडिया एक्सन नेपालको वेभसाइटमा उपलब्ध छ ।

सम्बन्धित खबर