जनकपुरधाम । पशुमा विभिन्न रोगको प्रकोप तीव्र भइरहेका बेला मधेश प्रदेश सरकारले सञ्चालन गरेको खोप अभियानले धनुषा जिल्लाका किसानलाई ठुलो राहत भएको छ ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनुषाको सक्रियतामा चालु आर्थिक वर्षमा अढाई लाख पशुमा विभिन्न रोग विरुद्धको खोप लगाइएको छ । खोपको कारण किसानको पशुजन्य क्षति न्यूनीकरणमा उल्लेखनीय प्रभाव पारेको किसानहरु बताउँछन् ।
कृषिकर्म आय श्रोत मुल अधार रहेको यहाँका किसानका लागि पशुपालन आम्दनीको ठुलो श्रोत रहेको छ । तर विभिन्न रोगका कारण पशु मर्ने घटना बढेपछि आर्थिक कठिनाईमा पर्ने किसानको लागि खोप कार्यक्रम लाभदायक सावित भएको छ । खोप कार्यक्रमले रोग फैलिन नदिई पशु बचाउने र पशुपालनमा टेवा पुगेको जनकपुरधाम–२३ लोहनाका किसान जमसैद शेषले बताए ।


पशु सेवा केन्द्रका प्रमुख डा. संजिव कुमार ठाकुरका अनुसार सीमावर्ती क्षेत्र, राजमार्ग आसपास र व्यवसायिक फार्ममा लक्षित गरी खोप अभियान सञ्चालन गरिएको हो। गाईवस्तुमा लाग्ने खोरैत रोग विरुद्ध ५४ हजार ९५०, चर्चरे र भ्यागुतो रोग विरुद्ध १६ हजार, बख्रा तथा भेडाहरुमा लाग्ने पिपिआर भ्याक्सिन १ लाख ३६ हजार ५७१ र बंगुरमा लाग्ने सवाईन फिवर रोग विरुद्ध १ हजार ७५६ खोप लगाईएको छ ।
त्यसैगरि, गाईवस्तुमा छिटो लाग्ने लम्की स्कीन विरुद्धको २४ हजार अहिले लगाउने कार्य अन्तिम चरणमा रहेको केन्द्र प्रमुख डा.ठाकुरले बताए । डा. ठाकुरले आगामी आर्थिक वर्षमा सरकारद्वारा पूर्ण खोप अभियान कार्यक्रम ल्याउने तयारी भइरहेको छ।
यसैबीच, प्रदेश सरकारले पशु खोप मात्र नभई पशु उपचारमा प्रविधिको प्रयोग बढाएपछि पशु स्वास्थ्य उपचार समेत प्रभावकारी बन्दै गएको छ ।
विशेषगरी लडेर घाइते भएका वा उभिन नसक्ने पशुको उपचारमा काउलिफ्टर मेसिन प्रभावकारी सावित भएको छ । केन्द्रले यस वर्ष चारवटा काउलिफ्टर र एकवटा खुर कटर मेसिन खरिद गरेको जानकारी डा. ठाकुरले दिएका छन्। # पशु #






