जनकपुरधाम । प्राचीन मिथिलाको राजधानी जनकपुरधामसहित मिथिला क्षेत्र यतिवेला झुला उत्सवले रौनकले सजिएको छ । साउन तृतीयादेखि पूर्णिमासम्म मनाइने झुला उत्सवको अवसरमा जनकपुरधामसहितका प्रमुख मठमन्दिरहरु भव्यरुपमा सिंगारिएका छन् ।
नेपालका विभिन्न भागसहित भारतका सीमावर्ती क्षेत्रबाट हजारौं श्रद्धालुहरु झुला महोत्सवमा सहभागी हुन जनकपुरधाम आइपुगेका छन् । मठमन्दिर र कुटीहरुमा आयोजना भइरहेका झुला उत्सवमा गाइने कजरी, मलार र अन्य भक्ति गीतहरुले वातावरणलाई संगीतमय बनाइरहेका छन् ।

जानकी मन्दिरका छोटा महन्थ राम रोशन दासका अनुसार झुला उत्सवमा विशेषरुपमा राम–सीताको मूर्ति सिंहासनमा राखी झुलाउने परम्परा छ । प्रत्येक मठमन्दिरमा साउन महिनाभर सिंहासन निर्माण गरी मुर्ति राखेर झुलाउने धार्मिक चलन रहेको छ । जानकी मन्दिरमा त विशेष किसिमका तीनवटा सिंहासनमा राम–सीताको मूर्ति राखी झुलाइन्छ, जुन श्रद्धालुहरुको मुख्य आकर्षण बनेको छ । मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्र र सीतासँगै दशरथका चारैजना पुत्रबधुलाई झूलामा राखेर झुलाईने गरिन्छ । झूलन महोत्सवकै अबसर पारी जानकी मन्दिरभित्र जानकीको प्रतिमा रहेको मूल मन्दिर र वरिपरि विशेष रुपले सजाईएको छ ।
मन्दिरको भित्री प्राणमा दशरथका चारै पुत्र र पुत्रबधुलाई झूलामा राखेर झुलाईने क्रममा गीतनाद, भजन किर्तन र महिलाहरुले नृत्य प्रस्तुत गरेको हुन्छ । साँझ पर्ना साथ जगत जननी सीताको जन्मभूमी जनकपुरधाम गुञ्जयमान हुनेगरिन्थयो । मन्दिरै मन्दिरले भरिएको यस धार्मिक नगरीमा सयौ मन्दिर छन् ।

त्रेता युगमा भगवान श्रीरामचन्द्र जनकपुर आउँदा जनक पुत्री सीतासित बिताएको प्रेममय क्षणहरुको स्मृतिमा प्रत्येक वर्ष साउनमा जानकी मन्दिरमा झूलनोत्सव मनाईने परम्परा रही आएको छोटा महन्थ दासले बताए ।
वरिष्ठ साहित्यकार तथा सांस्कृतिकविद डा. राजेन्द्र विमलले झुला पर्वको प्रारम्भ सन्त परम्पराबाट भएको बताउँछन् । ‘प्राचीनकालमा सन्तहरूले खुला चौर र वृक्षको छहारीमा शालिग्राम राखेर झुलाउने परम्परा सुरु गरेका थिए,डा. बिमलले भने,‘जुन मिथिला क्षेत्रमा अहिलेसम्म पनि सम्मानका साथ मनाइन्छ । सोही विश्वासका साथ झुला पर्वको ऐतिहासिक महत्व अझै रहेको छ ।’
सन् १७३० मा जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दास वैष्णव भएपछि जनकपुरमा झुला उत्सव विधिवत रूपमा सुरु गरिएको मानिन्छ । उनी माता जानकीलाई छोरी सरह मान्दथे र जानकीकै सल्लाहमा झुला उत्सवको थालनी गरेका थिए । हालका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार अयोध्या र वृन्दावनबाट ल्याइएको झुला परम्परा नै यहाँको मुख्य प्रेरणा बनेको हो ।
धान रोपाइपछिको समय झुला उत्सवको अनुकूल मानिन्छ । साँझपख भक्तजन मठमन्दिरमा भेला भई झुलाको गीत गाउने, राम–सीताको पूजा गर्ने तथा फूलपाती, नैवेद्य र पञ्चामृत वितरण गर्ने परम्परा रहेको छ ।
झुला उत्सवको समापन भने साउन शुक्ल पूर्णिमाको रात १२ बजे विधिपूर्वक झुलाको डोरी काटेर गरिन्छ ।
जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर, रत्न सागर तथा अग्निकुण्ड मठ यस पर्वको विशेष आकर्षणका केन्द्र हुन् । धार्मिक आस्था, सांस्कृतिक परम्परा र जनसम्पर्कको संगम बनेको यो झुला महोत्सवले मिथिला सांस्कृतिक केन्द्रको रुपमा जनकपुरधामलाई विश्वमा चिनाएको छ ।






