जनकपुरधाम । बारामा नेपाल प्रहरीले बोकेको ९ एमएम सरकारी पेस्तोल हराएको घटनाको छानबिनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब निरीक्षक (सई) देखि १२ जना प्रहरी कर्मचारीलाई अनुसन्धानका लागि तानेको छ ।
११ पुसको राति इलाका प्रहरी कार्यालय (इप्रका) कबही गोटमा कार्यरत सई सोनुकुमार मिश्रले बोकेको ९ एमएम सरकारी पेस्तोल हराएपछि मधेस प्रदेश प्रहरी कार्यालयले घटनाको छानबिन सुरु गरेको हो। सोही प्रयोजनका लागि इप्रका कबहीमा कार्यरत प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी कार्यालयमा झिकाइएको जनाइएको छ ।
मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाले सो घटनाको अनुसन्धानका लागि १५ पुसमै वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) भेष रिजालको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेका थिए । वरिष्ठ प्रहरी उपरीक्षक रिजालका अनुसार प्रहरीको सरकारी हतियार हराउनु अत्यन्तै संवेदनशील विषय भएकाले इप्रका कबहीको सम्पूर्ण युनिटलाई प्रदेश प्रहरी कार्यालयमा बोलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। उनका अनुसार हाल कबही क्षेत्रमा अर्को प्रहरी युनिट खटाइसकिएको छ र सुरक्षा व्यवस्थामा कुनै कमजोरी हुन नदिइएको छ।

सई मिश्रले रात्री गस्तीका क्रममा बोकेको सरकारी पेस्तोल हराएको भनी प्रहरी कार्यालयमा बयान दिएका थिए। तर हतियार कहाँ, कहिले र कुन परिस्थितिमा हरायो भन्ने विषयमा स्पष्ट विवरण दिन नसक्दा घटना थप शंकास्पद बनेको छ। सीमा क्षेत्र नजिकै प्रहरीकै हातबाट हतियार हराएपछि मधेस प्रदेश प्रहरीले यसलाई सामान्य घटना नभई सम्भावित गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएको छ।
घटनाको निष्पक्ष छानबिनका लागि विशेष समिति गठन गरिएको र समितिलाई सबै कोणबाट अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ । रिजालको नेतृत्वमा गठित छानबिन समितिले पेस्तोल हराएको भनिएको क्षेत्रको स्थलगत अध्ययन तथा अनुसन्धान पूरा गरी प्रदेश प्रहरी कार्यालय फर्किसकेको छ। त्यसपछि इप्रका कबहीमा कार्यरत सबै प्रहरीलाई झिकाई छुट्टाछुट्टै बयान लिइँदै अनुसन्धान अघि बढाइएको छ ।
प्रारम्भिक अनुसन्धानमा अधिकांश प्रहरी कर्मचारीले गस्तीका क्रममा हतियार हराएको बताएपनि सई मिश्रले भने ब्यारकमै हतियार हराएको बयान दिएको छानबिन समितिका खटेका एक प्रहरी अघिकारीले बताए । बयानहरू आपसमा नमिल्ने र चित्तबुझ्दो नदेखिएकाले घटनालाई थप शंकास्पद मानी अन्य पाटोबाट पनि सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार सई मिश्रले बोकेको सरकारी पेस्तोल तस्कर समूहले खोसेर लगेको आशंका गरिएको छ। यद्यपि, हतियार लुटिएको भन्ने विषयमा प्रदेश प्रहरीले औपचारिक पुष्टि भने गरिसकेको छैन। तर उक्त सम्भावनालाई समेत केन्द्रमा राखेर अनुसन्धान भइरहेको प्रहरी स्रोतको दाबी छ । प्रहरीकै लापरबाही वा संलग्नताका कारण हतियार हराएको पुष्टि भएमा सम्बन्धित सबै प्रहरीमाथि कडा विभागीय तथा कानुनी कारबाही गरिने मधेस प्रदेश प्रहरीले जनाएको छ।






