जनकपुरधाम । २१ पुसमा चुनाव हुने–नहुने अन्योलतालाई ६ माघमा विभिन्न राजनीतिक दलका नेताहरूको उत्साहजनक उम्मेदवारीले अन्त्य गर्दै मुलुकमा निर्वाचनको माहोल बन्दै गएको छ। भावी प्रधानमन्त्रीका रूपमा हेरिएका नेपाली कांग्रेसका सभापति गगन थापा, युवामाझ लोकप्रिय काठमाडौँ महानगरपालिकाका निर्वाचित मेयर बालेन साहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्नु तथा रास्वपाले आफ्नो चुनावी प्रचार अभियान जनकपुरबाट सुरु गर्नुले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा चुनावी सरगर्मी चाँडै बढेको देखिन्छ।
मधेशमा चुनावी रापताप बढ्नुको अर्को महत्वपूर्ण कारण मधेश प्रदेशबाट विभिन्न ९ वटा दलका अध्यक्षहरूको उम्मेदवारी हो। नेपाली कांग्रेसका अध्यक्ष गगन थापा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनअधिकार पार्टीका अध्यक्ष डा. शरद यादव, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, राष्ट्रिय निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारी र समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालको उम्मेदवारीले मधेशको निर्वाचनलाई थप तातेको छ ।

आजको सत्रमा हामी गत निर्वाचनबाट राजनीतिमा उदाएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको चुनावी क्षेत्रबारे चर्चा गर्दैछौँ। पेशाले वैज्ञानिक रहेका डा. राउतले २०७९ सालको निर्वाचनमा मधेश प्रदेशका प्रभावशाली नेता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी–२ बाट करिब दोहोरो मतान्तरले पराजित गर्दै चर्चा कमाएका थिए। तर यसपटकको निर्वाचनमा अध्यक्ष राउतलाई सीधा चुनौती दिने उपेन्द्र यादव आफैं त्यो क्षेत्रमा छैनन्। यादव यसपटक सप्तरी–३ बाट चुनावी मैदानमा छन्।
अध्यक्ष यादव प्रत्यक्ष प्रतिस्पर्धामा नभए पनि डा. राउतका लागि यो निर्वाचन विगतको भन्दा कम चुनौतीपूर्ण भने छैन। कारण, अघिल्ला निर्वाचनमा सहयात्रीका रूपमा साथ दिएका पूर्वमन्त्री सतिश कुमार सिंह र जनमत पार्टीका पूर्व प्रवक्ता डा. शरतसिंह यादव यसपटक आफ्नै क्षेत्रमा राउतविरुद्ध चुनावी मैदानमा उत्रिएका छन्।
गाउँपालिका अध्यक्षमा पराजित भएका सिंहलाई आफ्नै निर्वाचन क्षेत्रको प्रदेशसभा क्षेत्र नम्बर २ (क) बाट टिकट दिएर जिताइएपछि पार्टीको संसदीय दलको परम्परा तोड्दै मुख्यमन्त्री बनाइएको थियो। सोही क्षेत्रको प्रदेशसभा (ख) बाट निर्वाचित महेश यादवलाई संसदीय दलको नेता बनाए पनि डा. राउतले सिंहलाई मुख्यमन्त्री बनाएर मधेशको राजनीतिमा बढ्दै गएको ‘यादव फ्याक्टर’ लाई चुनौती दिएका थिए। तर आज त्यही सिंह राउतका लागि चुनावी चुनौती बनेका छन्।
गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा डा. राउतले मुख्यमन्त्री सिंहलाई राजीनामा दिन दबाब दिएका थिए। सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरे पनि पछि लिखित रूपमा दिन अस्वीकार गरेपछि राउतले कारबाही गर्दै सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए। समर्थन फिर्ता लिएसँगै सिंह नेतृत्वको सरकार ढलेको थियो। त्यसको आक्रोशमा सिंहले आफ्ना निकटवर्तीमार्फत जनस्वाभिमान पार्टी गठन गरी सोही पार्टीको टिकटबाट चुनावी मैदानमा उत्रिएका छन्।
सोही क्षेत्रको प्रदेशसभा (क) बाट सिंहले १६ हजार ७३४ मत ल्याएर तत्कालीन जसपाका उम्मेदवार तथा पूर्व प्रदेश मन्त्री शैलेन्द्र साहलाई पराजित गरेका थिए। साहले ८ हजार ९२९ मत मात्र प्राप्त गरेका थिए।
प्रदेशसभामा विश्वासको मत नपाउने देखिएपछि सम्बोधन गर्दै राजीनामा दिएका मुख्यमन्त्री सिंहले भनेका थिए, ‘आज मलाई आफ्नै पार्टीले समर्थन फिर्ता लिएर जलील ग¥यो। यसको परिणाम अध्यक्ष राउतले आफ्नै निर्वाचन क्षेत्रमा भोग्नुपर्नेछ।’ यही पूर्वघोषित अभिव्यक्तिअनुसार सिंह बदला लिने उद्देश्यसहित राउतविरुद्ध चुनावी मैदानमा उत्रिएको देखिन्छ। डा. राउतलाई चुनौती दिने अर्का उम्मेदवार हुन् जनमत पार्टीका पूर्व प्रवक्ता डा. शरतसिंह यादव। अध्यक्ष राउतमाथि विभिन्न आरोप लगाउँदै पार्टीबाट अलग भई जनअधिकार पार्टी गठन गरेका यादव सोही क्षेत्रबाट उम्मेदवार बनेका छन्। यादवको बाहुल्य रहेको क्षेत्रमा उनको अवस्था अत्यन्त बलियो नदेखिए पनि अन्य उम्मेदवारसँग मिलेर चुनावी परिणामलाई प्रभावित गर्न सक्ने हैसियत भने रहेको स्थानीय मतदाताहरू बताउँछन्। कारण, यादव राउतका सल्लाहकार तथा पार्टी संगठन विस्तारका प्रमुख योजनाकारको भूमिकामा रहिसकेका छन्, जसले जनमतका कार्यकर्तामाझ उनको प्रभाव कायम छ।
विगतको निर्वाचनको तुलनामा यसपटक जनमत पार्टीको क्रेज घटेको देखिन्छ। यसको प्रमुख कारण जनमत पार्टी पाँच टुक्रामा विभाजित हुनु हो। जनमतबाट जनस्वराज पार्टी, सर्वोदय पार्टी, जनअधिकार पार्टी र जनस्वाभिमान पार्टी अलग भइसकेका छन्। पहिलो निर्वाचनमा परीक्षण नभएका डा. राउतले क्षेत्र विकास र जनताको पक्षमा काम गर्लान् भन्ने आशामा जनताले मतदान गरेका थिए। स्थानीय मतदाता रामबाबु यादव भन्छन्, ‘यसपालि राउत हाम्रो लागि नयाँ नेता रहेनन्। उहाँले के गर्नुभयो भन्ने हामीले देखिसक्यौं। उहाँको इगोका कारण प्रदेशको गौरव मानिने मधेश कृषि विश्वविद्यालय तहसनहस अवस्थामा पुगेको छ। त्यसैले यसपटक उहाँलाई चुनाव सहज छैन।’
यस्तो अवस्थामा डा. राउतलाई जसपा नेपालका उम्मेदवार पूर्वमन्त्री उमेश यादवले पनि चुनौती दिन सक्छन्। यादव यस क्षेत्रका लागि नयाँ उम्मेदवार होइनन्। अघिल्लो निर्वाचनमा उनी माओवादी केन्द्रबाट प्रदेशसभा (ख) मा जनमतका महेश प्रसाद यादवसँग पराजित भएका थिए। तर यसपटक उम्मेदवारी दर्ताको केही दिनअघि उमेश नेकपा माओवादी केन्द्र छोडेर जसपा नेपालमा प्रवेश गरेका छन्। अर्थात् उपेन्द्र यादवको उत्तराधिकारीका रूपमा उनी उम्मेदवार बनेका छन्।
२०७९ मा जनमतका राउतले ३५ हजार ४२ मत ल्याउँदा उपेन्द्र यादवले १६ हजार ९७९ मत प्राप्त गरेका थिए। माओवादी केन्द्रका उम्मेदवार रहेका उमेश यादवले ७ हजार २३ मत ल्याएका थिए। जनयुद्धदेखि माओवादी राजनीतिमा सक्रिय रहेका यादवको यस क्षेत्रमा राम्रो पहिचान छ।
साथै, अघिल्लो निर्वाचनमा लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए। अहिले जसपा र लोसपाबीच गठबन्धन भएकाले उमेश यादव यस क्षेत्रमा बलियो उम्मेदवारका रूपमा देखिन्छन्।
कांग्रेसले रामकुमार यादवलाई उम्मेदवार बनाएको छ। पार्टीका पूर्व जिल्ला उपसभापति रहेका यादव पहिलोपटक चुनावी मैदानमा उत्रिएका हुन्। तर सो क्षेत्रमा कांग्रेस उम्मेदवारको खासै प्रभाव नदेखिएको स्थानीय मतदाताहरूको भनाइ छ। त्यस्तै, रास्वपाले प्रदेश संयोजक इन्जिनियर रामजी यादवलाई उम्मेदवार बनाएको छ। बालेन साहको प्रवेशसँगै मधेशका युवामाझ रास्वपाप्रति आकर्षण देखिए पनि त्यसले प्रत्यक्ष निर्वाचनमा खासै प्रभाव नपार्ने मतदाताहरूको आकलन छ।






