LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तयार पारेको चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्न जनकपुरधाममा भव्य सभा गर्ने तयारी पूरा भएको जनाएको छ ।

जनकपुरधामस्थित तिरुहुतिया गाछीमा बुधबार आयोजना हुने उक्त सभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी मधेश प्रदेश सभापति तथा प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंगलबार पत्रकार सम्मेलनमार्फत दिएका हुन् ।

उनका अनुसार सभालाई कांग्रेसको मधेश केन्द्रित पहिलो औपचारिक चुनावी शक्ति प्रदर्शनका रूपमा लिइएको छ । पत्रकार सम्मेलनमा यादवले मधेश प्रदेशका आठै जिल्लाबाट नेता कार्यकर्तालाई परिचालन गरिएको र कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको बताए ।
‘प्रदेशका सबै जिल्लाका संगठनात्मक संरचना सक्रिय पारिएको छ । यो कार्यक्रम सभा मात्र नभई आगामी निर्वाचनका लागि संगठन सुदृढीकरणको अभ्यास पनि हो,’ उनले भने ।

सभामा पार्टीका केन्द्रीय सभापति गगन थापासहित केन्द्रीय पदाधिकारीहरूको उपस्थिती रहने जनाइएको छ ।केन्द्रीय नेतृत्वको सहभागिताले मधेशमा कांग्रेसको चुनावी अभियान औपचारिक रूपमा तीव्र हुने विश्वास छ ।

यादवका अनुसार सार्वजनिक गरिने प्रतिज्ञापत्रमा मधेशको समग्र विकासलाई प्राथमिकतामा राखिएको छ ।विशेषगरी रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सिंचाइ र भण्डारण संरचना विस्तार, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, सडक तथा अन्य पूर्वाधार विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा सुशासनका मुद्दा समेटिनेछन् ।
उनले मधेशमा देखिएको बेरोजगारी, कृषि उत्पादनमा देखिएको स्थिरता तथा आधारभूत सेवा प्रवाहमा रहेका चुनौतीलाई ध्यानमा राखेर नीति तथा कार्यक्रम तयार पारिएको दाबी गरे । ‘मधेशको आर्थिक रूपान्तरण बिना देशको समृद्धि सम्भव छैन भन्ने दृष्टिकोणका साथ प्रतिज्ञापत्र तयार गरिएको छ,’ उनले स्पष्ट पारे ।
कांग्रेसले यस सभालाई निर्वाचनअघि जनमत निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ । तिरुहुतिया गाछी आसपास सुरक्षाको विशेष प्रबन्ध गरिएको छ भने विभिन्न जिल्लाबाट आउने कार्यकर्ताका लागि यातायात र व्यवस्थापनको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

आगामी निर्वाचनमा मधेश केन्द्रित एजेन्डा कत्तिको प्रभावकारी बन्नेछ भन्ने प्रश्नको जवाफ अब मतदाताको निर्णयबाटै आउने देखिन्छ ।

सम्बन्धित खबर