जनकपुरधाम । मिथिला कला, संस्कृति र साहित्य विषयमा केन्द्रित भई जनकपुरधाममा हुदै आएको जनकपुर साहित्य महोत्सवको सातौ संस्करण १ जेठदेखि हुने भएको छ ।

यस वर्षको महोत्सव ‘जनकपुर केन्द्रित विमर्श’का साथ प्रस्तुत हुने आयोजक संस्थाले जनाएको छ ।

खुल्ला चौरमा हुदै आएको महोत्सव यस वर्ष जनकपुरस्थित महेन्द्र नारायण निधि भवन परिसरमा सञ्चालन हुन लागेको हो । यस वर्षको महोत्सवमा साहित्यिक बहसभन्दा पनि जनकपुरधामको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानलाई मुख्य केन्द्रमा राखेको आयोजकले जनाएको छ ।

नव मिथिला फाउण्डेसन को आयोजना तथा फ्याट्स नेपालको प्रायोजनमा हुने महोत्सवको उद्घाटन मधेश प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले गर्ने कार्यक्रम तय गरिएको छ ।

महोत्सवमा विभिन्न १३ वटा खुला प्यानल छलफल राखिएको छ । ‘जनकपुरको कनेक्टिभिटी र पर्यटनको भविष्य’, ‘जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने सम्भावना’, ‘कसरी फर्काउने जनकपुरको शास्त्रार्थ’ जस्ता विषयमार्फत जनकपुरधामको पहिचान, सम्भावना र चुनौतीमाथि गम्भीर बहस हुने नव मिथिला फाउण्डेसनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए ।

महोत्सव निर्देशक राजीवधर जोशीका अनुसार कार्यक्रमको संरचना नै जनकपुरधामको ऐतिहासिक र सांस्कृतिक महत्वलाई केन्द्रमा राखेर तयार गरिएको हो ।

महोत्सवको अर्को आकर्षण प्रभातकालीन सम्पदा पदयात्रा हुनेछ । आयोजकका अनुसार २ जेठ हुने पदयात्रामा करिब १२ सयदेखि १५ सय सम्म सहभागी हुने अपेक्षा गरिएको छ । एउटै प्रकारको पोशाकमा सहभागीहरूले जनकपुरधामका धार्मिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन गर्दै सम्पदा संरक्षणको सन्देश दिनेछन् ।

पछिल्ला वर्षहरूमा जनकपुर साहित्य महोत्सवले मैथिली भाषा, मधेशको समाज, महिला लेखन, धार्मिक पर्यटन तथा सांस्कृतिक विमर्शलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रयास गर्दै आएको छ ।

सम्बन्धित खबर