जनकपुरधाम । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा मल्हम लगाउने उद्देश्यले रविउन नुर कमिटी जनकपुरधामको पहलमा झण्डै पाँच लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ ।
बाढीका कारण ठूलो जनधनको क्षति व्यहोरेका तथा दैनिक उपभोग्य सामग्रीको अभाव झेलिरहेका प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठानको सहयोग जुटाएर राहत सामग्री प्रभावित क्षेत्रमै पुगेर वितरण गरिएको कमिटीले जनाएको छ ।

कमिटीका अध्यक्ष अजिज राईनका अनुसार जनकपुरधामस्थित बजरंग चोकमा रहेको पपया इन्टरप्राइजेज, इस्लामिक फाउण्डेशन, फ्रिक्रेज नेपाललगायतका संस्था तथा प्रतिष्ठानको सहयोगमा राहत सामग्री संकलन गरिएको हो । संकलित सामग्री बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकताका आधारमा वितरण गरिएको उनले बताए ।
अध्यक्ष राईनका अनुसार करिब ४ लाख ६६ हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ । जसमा २५ क्विन्टल चामल, ६ कार्टुन खानेतेल, १० क्विन्टल चिउरा, ६ क्विन्टल मुरही, नुनका २५० प्याकेट, चाउचाउ ७५ कार्टुन तथा ५० कार्टुन बिस्कुटलगायतका दैनिक उपभोग्य सामग्री रहेका छन् ।
बाढी तथा प्राकृतिक विपद्का समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्वसँगै मानवीय कर्तव्यसमेत भएको अध्यक्ष राईनले बताए । नेपाली एकता, मानवता र मातृभूमिप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै राहत अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।
“विपद्को समयमा पीडित नागरिकलाई आफ्नो क्षमताअनुसार सहयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो,” अध्यक्ष राईनले भने, “पीडित परिवारलाई केही राहत र सहजता प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले विभिन्न व्यक्ति, संस्था तथा व्यापारिक प्रतिष्ठानसँग सहकार्य गरेर राहत सामग्री प्रभावित क्षेत्रमै पुर्याएका हौँ ।”
राहत सामग्री संकलन तथा वितरण अभियानमा पपया इन्टरप्राइजेजको महत्वपूर्ण सहयोग रहेको भन्दै रविउन नुर कमिटीले धन्यवाद ज्ञापन गरेको छ । कमिटीले विपद्को समयमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था, व्यवसायी तथा सहयोगी हातहरूप्रति आभारसमेत व्यक्त गरेको छ ।
राहत सामग्री वितरण टोलीमा कमिटीका अध्यक्ष अजिज राईनसहित मुस्लिम अगुवा, समाजसेवी साजिद हुसेनलगायतको सहभागिता रहेको थियो । टोलीले प्रभावित क्षेत्रमै पुगेर स्थानीय नागरिकसँग भेटघाट गर्दै उनीहरूको अवस्थाबारे जानकारी लिएको र उपलब्ध राहत सामग्री वितरण गरेको जनाइएको छ ।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो संख्यामा नागरिक प्रभावित भएपछि देशका विभिन्न स्थानबाट राहत तथा उद्धारका प्रयास भइरहेका छन् । यस्तो विपद्का बेला सरकारी तथा गैरसरकारी क्षेत्रसँगै नागरिक समाज, धार्मिक तथा सामाजिक संघसंस्था र निजी क्षेत्रबाट समेत सहयोग जुट्न थालेको छ । रविउन नुर कमिटीको राहत अभियान पनि मानवीय सहयोग र सामाजिक एकताको उदाहरणका रूपमा अघि बढेको छ ।






