काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्सेमा निकै उतारचढाव देखिएको छ । २ हजार १७५ विन्दुदेखि खुला भएको बजार २ हजार १७८ दशमलव ८१ विन्दुमा गएर बन्द भएको छ ।दिनभरीमा बजार ९र९ पटकसम्म घटबढ भएर बन्द भएको छ । अहिले बजारमा ट्रेडिङ गर्ने लगानीकर्ता र ठूला लगानीकर्ताबीचको द्वन्द्वका कारण बजारमा तीव्र उतारचढाव आएको बजारका जानकारहरू बताउँछन् ।अहिले बजार ुसिजनल बुलुमा चलिरहेको अवस्थामा ट्रेडिङ गर्ने लगानीकर्ताहरू सानो सानो नाफा बुक गर्नतिर लागेको र ठूला लगानीकर्ताले सीमित कम्पनीमा मात्र खेलिदिँदा बजारमा उतारचढाव आएको अग्रज लगानीकर्ता केशव कोइरालाले बताए ।

यसरी बजारमा निकै उतार चढाव आउँदा भोलिका दिनमा भने बजार सुस्ताउन सक्ने संकेत गरेको अर्का लगानीकर्ता ले बताए । तर ब्याजदर घट्दोक्रममा रहेकोले यस्ता उतारचढावले बजारलाई खासै फरक नपार्ने स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहन कार्कीले बताए । आजको उतारचढाव हेर्दा धेरै वृद्धि देखिएका समूहमा करेक्सन देखिएकोले बजार माथि नै जाने सम्भावना रहेको उनको भनाइ छ ।बिहीवार दिनभरको कारोबारमा उतारचढाव देखिए पनि अन्तिममा बजार अघिल्लो कारोबार दिनको भन्दा ५ दशमलव ७१ अंकले बढेर बन्द भएको छ । दिनभरको कारोबारमा नेप्से परिसूचक न्यूनतम २ हजार १६३ दशमलव १४ विन्दुसम्म झरेर अधिकतम २ हजार १९२ दशमलव ७१ विन्दुसम्म पुग्यो । बुधवार भने नेप्से परिसूचक ९ दशमलव शून्य १ अंकले घटेको थियो ।

बुधवारको तुलनामा समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । बिहीवार २४६ कम्पनीको रू ३ अर्ब ४ करोड ४५ लाख बराबरको ८२ लाख ४७ हजार ६४६ कित्ता धितोपत्र खरीदविक्री भएको छ । यस दिन ५८ हजार ६६५ पटकको व्यापारमा उल्लिखित धितोपत्र खरीदविक्री भएको बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले प्रष्ट पारेको छ । बुधवार रू। ४ अर्ब ९२ करोड बराबरको धितोपत्र कारोबार भएको थियो ।बिहीवारको कारोबारमा सर्वाधिक हिस्सा एनआईसी एशिया बैंक लिमिटेडले ओगटेको छ । बैंकको रू। १८ करोड ४ लाख ४४ हजारभन्दा बढीको २ लाख १६ हजार ३३७ कित्ता शेयर खरीदविक्री भएको छ । सर्वाधिक शेयर कारोबार भएको यस बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ ।

पछिल्ला दुई आर्थिक वर्ष लगानीकर्ताको हात खाली बनाएको यस बैंकको शेयर खरीदप्रति पछिल्लो समय लगानीकर्ता निकै उत्साहित देखिएका छन् । सर्वाधिक रकमको कारोबार भए पनि शेयर मूल्यमा वृद्धि हुनुको अर्थ बैंकको शेयर विक्रीको तुलनामा खरीद चाप बढी हुनु नै हो ।सामान्य अंकले बढेको बिहीवारको बजारमा दुई कम्पनीको शेयर मूल्य भने उच्च दरमा वृद्धि भएको छ । यस दिन आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत र मैलुङ्गखोला जलविद्युतको शेयर मूल्य ९ दशमलव ५४ प्रतिशत बढेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू। ७७ दशमलव १० ले बढेर अन्तिम मूल्य रू। ८४८ दशमलव २० र मैलुङ्गखोला जलविद्युतको प्रतिकित्ता रू ४३ दशमलव ४० ले बढेर अन्तिम मूल्य रू ४९८ दशमलव ४० पुगेको छ ।

यो दिन कुमारी धनवृद्धि योजनाको इकाई मूल्य सर्वाधिक ८ दशमलव ८९ प्रतिशत घटेको छ । यस योजनाको इकाई मूल्य प्रतिइकाई रू। शून्य दशमलव ८८ ले घटेर अन्तिम इकाईमूल्य रू। ९ दशमलव शून्य २ कायम भएको हो ।बिहीवारको बजारबाट व्यापारिक समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक २ दशमलव ६८ प्रतिशत बढेको छ । पछिल्लो समय छोटो समयमै नाफा बुक गर्ने हाबी हुँदा बजारले सोचेअनुसारको गति लिन नसकेको जानकारहरूको भनाइ छ ।पुसको पहिलो सातादेखि नै उकालो लागेको बजार अझै माथि जानुपर्ने विश्वास जानकार लगानीकर्ताहरूको छ ।

एक वर्षभन्दा बढी समय घटेको बजारका सस्ता धितोपत्र खरीदका लागि लगानीकर्ता उत्साहित हुनुपर्ने अनुमान जानकार लगानीकर्ताहरूले लगाएका हुन् । अझै पनि सूचीकृत धेरै कम्पनीहरूको लाभांश आउन बाँकी नै रहेकाले लाभांश केन्द्रित भएर लगानी गर्ने वातावरण बाँकी नै रहेको जानकार लगानीकर्ताको बुझाइ छ ।बिहीवार सूचीकृत कम्पनीहरूको कुल धितोपत्र मूल्य अर्थात् कुल बजार पूँजीकरण रू। ३१ खर्ब ४५ अर्ब ६३ करोड ५२ लाख कायम भएको छ । बुधवारको तुलनामा कुल बजार पूँजीकरण रू। ८ अर्ब २४ करोड ११ लाखले वृद्धि भएको छ । बुधवार कुल बजार पूँजीकरण रू। ३१ खर्ब ३७ अर्ब ३९ करोड ४० लाख रहेको थियो ।

सम्बन्धित खबर