
जनकपुरधाम । मिथिला क्षेत्रका चर्चित वरिष्ठ शास्त्रीय गायक गुरुदेव कामतको आज निधन भएको छ ।
मिर्गौला सम्बन्धि समस्याले पीडित गायक कामतको बिहीबार बिहान सिरहाको पोखरभिन्डास्थित कामतको पुख्र्यौली घरमै निधन भएको हो । मैथिलीसहित विभिन्न नेपाली गीतहरुमा संगीत दिएका कामत नेपाली संगीत क्षेत्रमा निकै उचाइ पाएका व्यक्तित्व हुन् ।
शास्त्रीय संगीत साधकको पहिचान बनाएका गुरुदेवको गत चैतमा दुवै मिर्गौलामा समस्या देखिएको थियो । पहिल्यैदेखि मिर्गौलामा समस्या रहेपनि स्वास्थ्यमा खराबी देखिएपछि उपचारको क्रममा गत चैतमा रोग पत्ता लागेको थियो । तत्काल काठमाडौंमा उनको प्रारम्भिक उपचारपछि केही दिनसम्म डायलासिस गरियो ।
आर्थिक अभावको कारण काठमाडौंमै उपचार सम्भव नहुने अवस्था आएपछि तीन दिनअघि मात्रै उनी गाउँको घर फर्केका थिए ।
शास्त्रीय संगीतमा ख्याति कमाएका कामतको निधनले मैथिली तथा नेपाली संगितको क्षेत्रमा ठुलो क्षति भएको छ ।