जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र एमालेले संविधान संसोधन गरेर समानुपातिक प्रणाली समाप्त गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।
शनिवारमा जनता समाजवादी पार्टी, नेपालका अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले विरुद्ध बोल्ने सानाहरुलाई तह लगाउने समानुपातिक प्रणाली हटाउने षडयन्त्र भईरहेको बताए । मुलुकमा संघियता, समावेशी लोकतन्त्र मधेश आन्दोलनको देन रहेको उल्लेख गर्दै अध्यक्ष यादवले भने,‘ अस्थिरताको नारा दिएर समानुपातिक व्यवस्थालाई हटाउने षडयन्त्र भईरहेको छ । तर यो हटाउने चेष्टा गरेके खण्डमा मुलुकमा महाभारत हुन्छ, त्यसको हेक्का रहोस् ।’
मुलुकमा अस्थिरता समानुपातिक प्रणालीले भनई काँग्रेस, एमाले र माओवादी केन्द्रको स्वार्थको कारण भएको बताउँदै उनले भने,‘ तर साना दल माथि त्यसको आरोप लगाएर, साना दलहरुलाई समाप्त गर्ने योजना चलिरहेको छ । त्यसकारण यसके विरुद्ध एक पटक फेरि संघर्षको लागि हामीले तयारी रहनु आवश्यक छ ।’
विगतका गरेका विभिन्न काण्डहरुलाई ढाकछोप गर्न तथा तस्कर माफियाहरुलाई संरक्षण गर्न कांग्रेस र नेकपा एमाले मिलन भएको बताउँदै उनले भने,‘ विगतमा पनि भष्टाचारको काण्डहरुको भएको छ, सबैमा एमाले, काँग्रेस र माओवादीका नेताहरुको संल्गनता छ । यिनिहरुकै कारण मुलुकमा चरम भष्टाचार बढेको छ ।’
अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई खोखला बनाई सकेकाले उनीहरुकोे भरमा देश चल्न नसक्ने दावी गरेका हुन् ।
बहुदलीय व्यवस्था आएको ३५ वर्षमा ३० वर्षभन्दा बढी समय कांग्रेस तथा कम्युनिष्ट मिलेर देश चलाएको बताउँदै उनले विकासका हरेक सूचक ध्वस्त हुनुमा यीनै कांग्रेस, कम्युनिष्टहरुको हात रहेको आरोप लगाए । काँग्रेस र एमालेकै शासन कालमा मुलुको शैक्षिक स्तर, कृषिको अवस्था तथा औद्योगिकरण लगायतका सबै क्षेत्र ध्वस्त हुँदै जाँदा देश नै खोखला हुन पुगेको उनले अरोप लगाए ।
उनले भने ‘कांग्रेस तथा कम्युनिष्टहरुको शासनकालमा देशमा शिक्षा बरबाद भएको छ, किसानहरु कृषि पेशाबाट पलायन भएर वैदेशिक रोजगारमा जान बाध्य भएका छन्, लाखौँ नेपाली नागरिकलाई रोजगारी दिएको नेपाल सरकारको स्वामित्वको उद्योग कलकारखाना ध्वस्त भएका छन् । केलव मुलुकमा कमिशनतन्त्र, लुटतन्त्र र भ्रष्टाचार मात्रै मौलाएको छ ।’
सन् २०१३ सम्म ८देखि ९ खर्व ऋण रहेकोमा अहिले २४ खर्बभन्दा बढीको वैदेशिक ऋण हाम्रो देशमाथि भएको छ ,‘सहायताको नाममा लिएको वैदेशिक ऋणमाथी यिनीहरु नै रजाई गर्छन्, फलस्वरुप दिनदिनै नेपाली जनता ऋणको भारमुनि पिल्सिदै गईरहेका छन् ।जुन तिर्न सक्ने अवस्था छैन ।’
एक अर्को प्रसंगमा जसपा नेपालका अध्यक्ष यादवले मधेसले प्राप्त गरेको उपलब्धि मात्र नभई देश नै संकटमा फस्ने खतरा समेत रहेको दावी गरे ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा पुर्व मन्त्री राजकिशोर यादवले काँग्रेस र एमाले दुई पार्टी भएपनि दुवैको उदेश्य नै देश लुटनु रहेको आरोप लगाए । काँग्रेस र एमालेको आर्थिक निती उस्तै उस्तै रहेको उनले दावि गरे ।
कार्यक्रममा पुर्व मुख्यमन्त्री तथा पार्टीका महासचिव लालाबाबु राउतले आफ्नो नेतृत्वको सरकारले गरेको विगतमा गरेको सकरात्मक कार्यहरुको प्रचारप्रसार नगरेकै कारण २०७९ सालको निर्वाचनमा पार्टी बढी सिट ल्याउन नसकेको बताए ।
वर्तमान जनमत नेतृत्वको प्रदेश सरकारले अहिले सम्म कुनै गौरवको योजना नल्याएको र मुख्यमन्त्री सतिश कुमार सिंहले पार्टी अध्यक्ष सिके राउतको इशरामा अन्य जिल्लालाई छोडेर आफ्नो जिल्लामा बजेट भण्डारण गरेको आरोप लगाए ।
आफ्नो नेतृत्वको सरकारले तीन वटा विश्वविद्यालय स्थापना गरेर ऐतिहासिक कार्य गरेको दावि गर्दै उनले भने,‘ मेरो नेतृत्वको सरकारले एकसे एक राम्रा कामहरु गरे । तर वर्तमान सरकारले ति संस्थाहरुलाई कमजोर बनाउन ति शैक्षिक संस्थाहरुको बजेट कटौति गरेर त्यसको कामकाज नै गर्न दिईएको छैन । यसले स्पष्ट हुन्छ कुन पार्टीको विकासको विरोधी हो ।‘
एउटा पार्टी अध्यक्षले सम्पुर्ण मधेशी जनताको मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधेर गैर राजनीतिक चरित्र प्रदर्शन गरेको उनले आरोप लगाए ।