
जनकपुरधाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सीप बिना रोजगार सम्भव नरहेको बताएका छन् ।
वैदेशिक रोजगार बोर्डले महोत्तरीमा आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले भने,‘ कुनै देशका सरकारले सबै नागरिकलाई रोजगार प्रदान गर्न सक्दैन । तर रोजगारलाई सीपसँग जोडिएको खण्डमा बेरोजगारी समस्या समाधान हुन्छ ।’
निर्माण कार्य, गहनाको कारीगरी तथा विकास निर्माणका सामग्रीहरू बाहिर मुलुकबाट ल्याउनुपर्ने बाध्यता रहेको मन्त्री भण्डारीको भनाई थियो । मुलुकमा आन्तरिक रोजगारी प्रवद्र्धनको लागि आगामी फाल्गुनमा राष्ट्रिय स्वरोजगार श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागेको मन्त्री भण्डारीले बताए ।
वैदेशिक रोजगारीको बाध्यता हटाउन आन्तरिक रोजगारी सिर्जना गर्नु आवश्यकता रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले भने,‘वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ ।’
कार्यक्रममा मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल कुमार रायले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि सीप र भाषा सम्बनधी तालिम सञ्चालन भइरहेको बताए । सीप र भाषाको ज्ञानबिना विदेश जानेहरूले भोग्नुपरेको कठिनाइलाई मध्यनजर गरी प्रदेश सरकारले तालिमको संचालन गरिरहेको मन्त्री रायले बताए ।
उनले वैदेशिक रोजगारीमा गएर विदेशमा अलपत्र परेकाहरुलाई ल्याउन तथा राहत प्रदान गर्न सरकारले एउटा छुटट्ै निकाय गठन गर्न लागेको बताए ।
कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, वैदेशिक रोजगार बोर्डका निर्देशक डा. द्वारिका उप्रेतीरसहितको सहभागिता रहेको थियो ।