सुकुम्बासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेन–जी अभियन्ता माजिद अन्सारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति आएको बाढीबाट प्रभावित सुकुम्बासीको अवस्था बुझ्न शनिबार दिउँसो होल्डिङ सेन्टरमा पुगेका अन्सारीसहित नहेन्द्र खड्का र सरिश्मा थापालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई प्रहरीले लछारपछार गर्दै पक्राउ गरेको भिडियो तथा पक्राउपछि अनुहारमा चोट देखिएको अन्सारीको तस्वीर सार्वजनिक भएको छ ।

पक्राउ परेका उनीहरूलाई कीर्तिपुरको प्रहरी बिटमा राखिएको छ ।
बाढी प्रभावित सुकुम्बासीलाई स्थानान्तरण गर्ने कार्य भइरहेका बेला होहल्ला गरेपछि उनीहरूलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।
उनीहरूको पक्राउको सामाजिक सञ्जालमा विरोध भएको छ । जेन–जी अभियन्ता भावना राउतले उनीहरूको रिहाइको मागसहित सामाजिक सञ्जालमा लेखेकी छन्, ‘लाजलाई पनि लाज लागिसक्यो, माननीय गृहमन्त्रीज्यू । हिजो सडकमा हुँदा हातहतियारबिना शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको अधिकारका लागि लड्नुभएको होइन र रु आज त्यही अधिकारको पक्षमा बोल्नेहरू नै अपराधी बनाइँदै छन् । सत्ताले यति धेरै बदलिदिन्छ रु कि सत्ता ले अन्ततः सबैलाई आफ्नै दास बनाउँछ रु यदि मानव अधिकारको पक्षमा उभिनु अपराध हो भने हामी सबै अपराधी हौँ । सबैलाई थुन्ने जेल बनाइदिनुस् ।’
त्यस्तै, अर्की अभियन्ता रक्षा बमले पनि उनीहरूको रिहाको माग गरेकी छन् ।







