LIVE
स्वतन्त्र पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुनसक्दैन ः डा.सिंह | जनकपुर–अयोध्या रेल सेवा शनिबारदेखि नियमित, टिकट बुकिङ खुला | पुर्व राज्यमन्त्री सञ्जय साहको मुद्दा सुनुवाइ माग्दै जनकपुरमा प्रदर्शन | | अयोध्याबाट मंगलबार जनकपुरधाम आउँदै सरयुग कमला एक्प्रेस, स्वागतको भव्य तयारी | सर्वदलिय सरकारदेखि रोजगारी सिर्जनासम्म मुख्यमन्त्री यादवको प्राथमिकता | उद्यमीलाई आर्थिक विकासको संवाहक बनाउन सरोकारवालाको जोड | नवनियुक्त मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे शपथ लिने, एक सातापछि विश्वासको मत लिने | मधेश सरकार गठनमा संवैधानिक अन्योल, सत्ताको दाउपेचमा दलहरू | नेकपाका केन्द्रीय सदस्य श्याम यादवसहितका नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश |

जनकपुरधाम । सीताको जन्मभूमि जनकपुरधाम र भगवान श्रीरामको जन्मस्थल अयोध्यालाई जोड्ने बहुप्रतीक्षित सरयू–कमला एक्सप्रेस रेल सेवा आगामी शनिबारदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई रेल सञ्जालमार्फत जोड्ने उद्देश्यले सुरु हुन लागेको यो सेवाका लागि भारतीय रेल्वेले विहिवारदेखि टिकट बुकिङसमेत खुला गरिसकेको छ । विहिवार मात्रै २ जना यात्रीको मात्रै टिकट काटिएको छ भने ५० भन्दा बढी यात्रीले टिकटको लागि नाम दिएका छन् ।

प्राविधिक समस्याको कारण विहिवार धेरैको टिकट काटन सकिएन, नेपाल रेल्वे कम्पनिका प्रबन्ध सञ्चालक परिवेश पराजुलिले भने,‘ शुक्रवार विहान ९ बजे टिकट काटने कार्य नियमित हुन्छ ।’ विहिवार टिकटका लागि धेरै जना जनकपुर रेल्वे स्टेशनमा पुगेका थिए । तर टिकट काउन्टरमा विक्रि बन्द गरिएकोले सर्वसधारण फर्केका थिए । ‘आज काउण्टरबाट प्राविधिक समस्याका कारण काउन्टरबाट टिकट विक्रि गर्न सकेनौ, कार्यालयबाट मात्रै दुई थान टिकट विक्रि गरेका छौ, उनले भने,‘ शुक्रवारदेखि काउन्टरबाटै टिकट विक्रि हुन्छ ।’

करिब ६०४ किलोमिटर दूरी तय गर्ने यो रेलले नेपालसहित भारतको बिहार र उत्तर प्रदेशका विभिन्न सहरलाई जोड्नेछ । जनकपुरधामबाट जयनगर कस्टम यार्ड हुँदै भारत प्रवेश गर्ने रेलले मधुबनी, सिझो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, पनियाहवा, गोरखपुर, बस्ती र मनकापुरलगायतका स्टेसनमा रोकिनेछ ।

कन्फर्म टिकट भएका यात्रीले मात्र यात्रा गर्न पाउने

भारतीय रेल्वेले सरयू–कमला एक्सप्रेसलाई पूर्णतः आरक्षित रेल सेवाका रूपमा सञ्चालन गर्ने जनाएको छ । यसमा कन्फर्म टिकट भएका यात्रुले मात्र यात्रा गर्न पाउनेछन् । आरएसी सुविधा नहुने भएकाले प्रतीक्षा सूचीमा रहेका यात्रुले समेत यात्रा गर्न पाउने छैनन् ।
रेलमा जनरल कोटाअन्तर्गत मात्र टिकट बुकिङ गर्न सकिनेछ । तत्काल, प्रिमियम तत्काल, ज्येष्ठ नागरिक, महिला तथा आकस्मिक कोटाको सुविधा उपलब्ध हुने छैन । कुल आरक्षित सिटमध्ये ७० प्रतिशत एन्ड टु एन्ड र ३० प्रतिशत रोड साइड कोटाका लागि छुट्याइएको भारतीय रेल्वेले जनाएको छ ।

यात्रुहरूले अधिकतम ६० दिन अघिसम्म अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । भारतीय रेल्वेको आईआरसीटीसी वेबसाइट तथा मोबाइल एप, आधिकारिक अनलाइन टिकटिङ एजेन्ट र नेपालमा उपलब्ध अधिकृत सेवा एजेन्टमार्फत टिकट काट्न सकिनेछ । भारततर्फका यात्रुले रेल्वे आरक्षण काउन्टरबाट समेत टिकट लिन सक्नेछन् ।

यस रेलमा नेपाली र भारतीय नागरिकले मात्र यात्रा गर्न पाउने व्यवस्था गरिएको छ । टिकट बुकिङ गर्दा यात्रुको नाम, उमेर, लिङ्ग, राष्ट्रियता र परिचयपत्रसम्बन्धी विवरण अनिवार्य हुनेछ । यात्राका क्रममा दुवै देशका नागरिकले वैध परिचयपत्र साथमा राख्नुपर्नेछ भारतीय रेल्वे विभागले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यस्तो छ रेलको भाडादर

भारतीय रेल्वेले जनकपुरधाम–अयोध्या रेलका चार श्रेणीमा भाडादर निर्धारण गरेको छ । जसअनुसार (स्लिपर) श्रेणीको टिकट ३६५ भारतीय रुपैयाँ, वातानुकूलित तृतीय इकोनोमी श्रेणीको ८८५ रुपैयाँ, वातानुकूलित तृतीय श्रेणीको ९६५ रुपैयाँ र वातानुकूलित द्वितीय श्रेणीको १ हजार ३६० भारतीय रुपैयाँ तोकिएको छ ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार नेपाली यात्रुले उक्त भाडा नेपाली रुपैयाँमा तिर्नुपर्नेछ । उदाहरणका लागि ३६५ भारतीय रुपैयाँको टिकटबापत नेपाली यात्रुले ५८४ रुपैयाँ तिर्नुपर्नेछ । नेपाल रेल्वे कम्पनिले यात्रुबाट भारतीय रेल्वेको तोकेको टिकट वाहेकको रकम नलिइने उनले स्पष्ट पारे ।

सम्बन्धित खबर