LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

जनकपुरधाम । महोत्तरीका भंगहा नगरपालिकाले बृहत् यौनिकता शिक्षा (सिएसइ) सम्बन्धी नीति तथा कार्यान्वयन निर्देशिका अनुमोदन गरेसँगै यसको प्रभावकारी कार्यान्वयन र विस्तारका लागि सरोकारवालाबीच छलफल तीव्र बनाएको छ। उपलब्ध दस्तावेजअनुसार सिएसइसम्बन्धी नीति तथा कार्यान्वयन निर्देशिका अनुमोदन गर्ने दस्ताबेजीकृत स्थानीय तहमध्ये भंगहा नगरपालिका नेपालकै पहिलो बनेको दाबी गरिएको छ।

जनचेतना अभियान नेपाल (प्याक नेपाल) को आयोजना, भंगहा नगरपालिकाको समन्वय तथा गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित आईसिडिपी परियोजनाअन्तर्गत बिहीबार बृहत् यौनिकता शिक्षासम्बन्धी नीति पैरवी तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो।

कार्यक्रममा सहभागीहरूले नीति अनुमोदन हुनु सकारात्मक सुरुवात भए पनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विद्यालय र समुदाय तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिए।

भंगहा नगरपालिकाका शिक्षा अधिकृत नरबहादुर पाख्रिनले सिएसइसम्बन्धी कार्यविधिमा आवश्यक विषय थप गर्दै यसको प्रभाव विद्यालयको शिक्षण सिकाइमा देखिने गरी कार्यान्वयन गर्नुपर्ने बताए। उनले यौनिकता शिक्षासम्बन्धी सचेतना समुदाय तहसम्म पुर्‍याउन सके बलात्कारलगायतका सामाजिक अपराध तथा जोखिमपूर्ण घटनामा कमी ल्याउन सहयोग पुग्ने धारणा राखे।

“शिक्षकले आफूले प्राप्त गरेको ज्ञान विद्यार्थीसमक्ष पुर्‍याउनुपर्छ,” उनले भने, “यसका लागि विद्यालयमा नियमित रूपमा यस्ता विषयमा छलफल र अभ्यास आवश्यक छ।”

कार्यक्रममा सहभागी प्रधानाध्यापक तथा छात्रा क्लबका प्रतिनिधिहरूले सिएसइको प्रभाव विद्यार्थीको व्यवहारमा समेत देखिन थालेको बताएका थिए। प्रधानाध्यापक पुष्पा मिश्र र छात्रा क्लबकी संयोजक नन्दनी रायले विगतमा महिनावारी तथा प्याडका विषयमा कुरा गर्न विद्यार्थीहरू लजाउने गरेको भए पनि अहिले खुलेर आफ्ना आवश्यकता राख्ने र छलफल गर्ने वातावरण बनेको बताए।

गुड नेवर्स इन्टरनेसनल नेपालका अनुगमन तथा मूल्यांकन अधिकृत किरण कुमार श्रेष्ठले बृहत् यौनिकता शिक्षाले बालबालिका तथा किशोरकिशोरीलाई आफ्नो शरीर, स्वास्थ्य, सम्बन्ध, अधिकार तथा जिम्मेवार निर्णयका विषयमा सही जानकारी र जीवनोपयोगी सीप प्रदान गर्ने बताए।

उनका अनुसार डिजिटल माध्यमबाट बालबालिकाले गलत तथा भ्रामक सूचना प्राप्त गर्ने जोखिम बढेकाले उनीहरूलाई भरपर्दो स्रोतबाट उमेरअनुकूल सही जानकारी उपलब्ध गराउनु आवश्यक छ। सिएसइलाई परियोजनामा मात्र सीमित नराखी नगरपालिकाको योजना तथा बजेटमा समावेश गरेर सबै विद्यालय र समुदायमा नियमित कार्यक्रमका रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।

हाल आईसिडिपी परियोजनाअन्तर्गत भंगहा नगरपालिकाका १० वटा विद्यालयमा बृहत् यौनिकता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। कार्यक्रममा यसलाई विद्यालयबाहिर रहेका बालबालिका तथा किशोरकिशोरी, अभिभावक र नगरपालिकाभित्रका अन्य विद्यालयसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विजय कुमार यादवले नगरपालिकाको तर्फबाट आवश्यक आर्थिक तथा प्राविधिक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए। विभिन्न १० वटा छात्रा क्लबका प्रतिनिधिसहित शिक्षक, प्रधानाध्यापक तथा सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा आरती शर्माले स्वागत मन्तव्यसहित कार्यक्रम कार्यान्वयनसम्बन्धी प्रस्तुति दिएकी थिइन्।

प्याक नेपालका कार्यकारी निर्देशक तथा कार्यक्रमका अध्यक्ष सुनिल कुमार यादवले सञ्चालन हुँदै आएको कार्यक्रमले विद्यार्थी तथा विद्यालयमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै कार्यक्रमको समापन गरे।

सम्बन्धित खबर