जनकपुरधाम । भारत–पाकिस्तानबीचको पछिल्लो देखि भएको सैन्य तनावको प्रभाव नेपाल–भारत सीमावर्ति क्षेत्रमा परेको छ ।
भारतले पाकिस्तानको सीमावर्ती क्षेत्रमा लक्षित मिसाइल आक्रमण गरेपछि सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् । सप्तरीको गोबरगाढादेखि पश्मिचमा पर्साको ठोरी सम्म ४ सय ६४ किलोमिटर मधेश प्रदेशको सिमा भारतको विहार राज्यसँग जोडिएको छ । नेपाल–भारतको खुल्ला सिमनाको कारण दुवै देशका नागरिक सहज रुपमा आवतजावत गर्ने गर्थियो । तर २२ अप्रिलमा भारतको कश्मीर राज्यको पहलगामको भएको आतंकी घटना पश्चात भारत–पाकिस्तान बीच तनाव बढेपछि नेपाल–भारतको सिमावर्ती क्षेत्रमा कडाई गरिएको छ ।

धनुषाको जटही, जयनगर, महोत्तरीको भिठामोड, सम्सी, सर्लाहीको सोनवर्षा, पर्साको रक्सौलसहतिका नाकामा सुरक्षा सतर्कता उ्रच्च बनाईएको छ । ति नाकाहरुमा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् ।
सीमा क्षेत्रमा सामान्यतया बिना कुनै रोकटोक नागरिकहरू आवतजावत गर्ने व्यवस्था थियो । दैनिक रूपमा सयौं नेपाली र भारतीय नागरिकहरू सामान खरिद, स्वास्थ्य उपचार, रोजगार वा आफन्त भेट्न सीमा पार गर्थे । तर, पछिल्लो सैन्य घटनापछि दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेका छन् ।
भिठामोड सीमा क्षेत्रमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘हामीले सुरक्षा सतर्कता बढाएका छौं । भारत–पाकिस्तानबीचको तनाव हाम्रो देशमा प्रत्यक्ष असर नपरे पनि सीमा क्षेत्र संवेदनशील हुने भएकाले हामी कुनै पनि जोखिम मोल लिन सक्दैनौं ।’ उनले थपे, ‘विशेष गरी नयाँ अनुहार र शंकास्पद गतिविधि भएका व्यक्तिमाथि हामी विशेष निगरानी गरिरहेका छौं ।’
जटहीमा नामाका व्यवसाय गरिरहेका एक व्यापारीले, ‘ सिमावर्ती क्षेत्रका नेपालीबाट सधैंजसो भारतमा किनमेल गर्न जान्थ्यौं । तर, अहिले सिमामा कडाई भएपछि सिमावर्ती भारतीय बजारमा समान खरिद गर्ने नेपालीहरुको संख्या पातलिएको छ ।’ सुरक्षा अधिकारीहरूले भने यो अस्थायी अवस्था भएको र स्थिति सामान्य भएपछिमात्र पूर्ववत सहजता कायम हुने बताएका छन् ।






