जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक मुटु रोग सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यका साथ सुविधा सम्पन्न आरोग्य निकेतन अस्पताल संचालनमा आउने भएको छ ।
अस्पताल संचालन सम्बन्धी जानकारी दिन बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा. गोराङ्ग मिश्राले निजि क्षेत्रबाट २० करोड रुपैयाँको लगानीमा बिहीबारदेखि अस्पताल संचालनमा आउने जानकारी दिए । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बिहिवार एक कार्यक्रम बीच अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।

सय बेड क्षमताको उक्त अस्पतालमा मुटु रोग सम्बन्धी सम्पूर्ण सेवा सहित अन्य स्वास्थ्य सेवा दक्ष चिकित्सकको टोलीमार्फत उपलब्ध उनले बताए । अध्यक्ष डा. मिश्राले भवन निर्माणमा ८ करोड र उपकरण खरिदमा १२ करोड रुपैयाँ खर्च भएको बताए । उनका अनुसार, सरसफाइदेखि सेवा प्रवाहसम्म नागरिक सन्तुष्ट हुनेगरी अस्पताल सञ्चालन गरिनेछ र शुल्क पनि समाजलाई सुहाउने दरमा तोकिनेछ।

डा.मिश्राले समयमै मुटु रोगको उपचार नहुँदा दैनिक दर्जनौँ मानिसको मृत्यु हुने गरेको उल्लेख गर्दै, जनकपुरधाममा विस्तृत मुटु परीक्षण सुविधा नहुँदा धेरैलाई उपचारको अभावमा ज्यान गुमाउनु परेको बताए । यस कारणले नै यहाँ आधुनिक मुटु उपचार सुविधा सहितको अस्पताल आवश्यक भएको उनको भनाइ छ।
गंगालाल हृदय रोग केन्द्र, काठमाडौंमा लामो अनुभव प्राप्त ख्याति प्राप्त चिकित्सक डा.अमित सिंहले हृदयघातका बिरामीलाई समयमै उपचार नपाउँदा मृत्यु हुने दर उच्च भएको बताए । जनकपुरधाममै सेवा प्रारम्भ भएपछि यस क्षेत्रका बासिन्दाले काठमाडौं वा अन्य शहरमा धाउनुपर्ने बाध्यता अन्त्य हुने उनले दावि गरे ।
अस्पतालकाका प्रबन्ध निर्देशक डा. मुस्ताक अलिले आफ्नो आमा मुटु रोगबाट पीडित हुँदा यस क्षेत्रमा उपचार सम्भव नभएर बाहिर जानुपर्ने अनुभवले अस्पताल स्थापना गर्ने अठोट गरेको बताए । उनका अनुसार, एक पटक भर्ना भइसकेपछि बिरामीको सम्पूर्ण उपचार तथा हेरचाहको जिम्मा अस्पतालले लिनेछ।
डा.अलिले विरामीलाई छिटो उपचार भएमा निको हुने सम्भावना बढ्ने भएकाले अस्पतालको सेवा २४ घण्टा खुला रहने पनि जानकारी दिए। मुटु रोगका साथै विभिन्न विरामीहरुको उपचार न्युन दरमा हुने बताए ।






