LIVE
विवाहपञ्चमीको निम्तो दिन जनकपुरबाट टोली अयोध्या प्रस्थान | डिजिटल जोखिम र नागरिक अधिकारबारे युवालाई प्रशिक्षण | स्वतन्त्र पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुनसक्दैन ः डा.सिंह | जनकपुर–अयोध्या रेल सेवा शनिबारदेखि नियमित, टिकट बुकिङ खुला | पुर्व राज्यमन्त्री सञ्जय साहको मुद्दा सुनुवाइ माग्दै जनकपुरमा प्रदर्शन | | अयोध्याबाट मंगलबार जनकपुरधाम आउँदै सरयुग कमला एक्प्रेस, स्वागतको भव्य तयारी | सर्वदलिय सरकारदेखि रोजगारी सिर्जनासम्म मुख्यमन्त्री यादवको प्राथमिकता | उद्यमीलाई आर्थिक विकासको संवाहक बनाउन सरोकारवालाको जोड | नवनियुक्त मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे शपथ लिने, एक सातापछि विश्वासको मत लिने |

जनकपुरधाम । नागरिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र डिजिटल सुरक्षाका क्षेत्रमा देखिएका चुनौतीसँग जुध्न मधेश प्रदेशका युवालाई प्रशिक्षित गर्न थालिएको छ । यसैक्रममा धनुषाका ९० जना युवा युवतीलाई नागरिक अधिकारको उपयोग, मानव अधिकार संरक्षण र डिजिटल सुरक्षासम्बन्धी एकदिने तालिम प्रदान गरिएको छ ।

जनचेतना अभियान नेपाल ९पीएसी नेपाल० ले युरोपेली आयोगको आर्थिक सहयोग तथा नेदरल्यान्ड्सस्थित संस्था ओक्सफाम नोभिबको साझेदारीमा सञ्चालन गरिरहेको ‘भयरहित आवाज’ परियोजनाअन्तर्गत शनिबार जनकपुरधाममा तालिम आयोजना गरेको हो ।

मधेश प्रदेशका धनुषाको जनकपुरधाम उपमहानगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका र सिरहाको सिरहा नगरपालिकामा सञ्चालन भइरहेको परियोजनाले नागरिक अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र डिजिटल सुरक्षाका क्षेत्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

नेपालको संविधान जारी भएपछि राजनीतिक तथा संरचनात्मक परिवर्तन भए पनि नागरिक स्वतन्त्रता र अधिकारको उपभोगमा अझै चुनौती कायम रहेको जनचेतना अभियान नेपालका कार्यकारी निर्देशक सुनिल यादवले बताए । विशेषगरी मानव अधिकार रक्षक, युवा अभियन्ता, पत्रकार तथा सीमान्तकृत समुदायका नागरिकले प्रशासनिक झन्झट, कानुनी जटिलता, डिजिटल सुरक्षा जोखिम र दुष्प्रचारजस्ता समस्या सामना गर्नुपरिरहेको उनको भनाइ छ ।

यादवका अनुसार नागरिक अधिकारबारे कानुनी सचेतनाको अभाव, सम्भावित जोखिमको डर र नागरिक सुरक्षाका लागि सुदृढ सञ्जालको कमीले स्थानीय तहमा नागरिक समाजको सक्रियता प्रभावित भइरहेको छ । यही अवस्थालाई परिवर्तन गर्न युवालाई अधिकारबारे सचेत बनाउँदै समुदायस्तरमा पैरवी गर्न सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उनले बताए ।

तालिममा सहभागी ९० जनामध्ये ३० जनाको समूह गठन गरी नागरिक अधिकारसम्बन्धी सचेतना विस्तार र अधिकार कार्यान्वयनका लागि पैरवी गर्ने योजना रहेको यादवले जानकारी दिए । उनीहरूले समुदायमा नागरिकलाई आफ्ना अधिकारबारे जानकारी गराउनुका साथै अधिकार हननका घटनाविरुद्ध आवाज उठाउन भूमिका निर्वाह गर्नेछन् ।

डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै जानकारीको अभावमा युवाहरू विभिन्न प्रकारका अनलाइन ठगी तथा डिजिटल जोखिममा पर्ने गरेको उल्लेख गर्दै यादवले डिजिटल सुरक्षासम्बन्धी ज्ञान र सीपले उनीहरूलाई सम्भावित जोखिमबाट जोगिन सहयोग पुग्ने बताए ।

‘भयरहित आवाज’ परियोजनाले घटना घटिसकेपछि प्रतिक्रिया दिने परम्परागत अभ्यासभन्दा फरक रूपमा पूर्वतयारी, रोकथाम, सचेतना र मानव अधिकारमा आधारित रणनीति अवलम्बन गरेको छ । स्थानीयस्तरमा नागरिक ऐक्यबद्धता सुदृढ गर्दै डरमुक्त वातावरणमा नागरिकको सुरक्षित र अहिंसात्मक सहभागिता प्रवर्द्धन गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको छ ।

परियोजनाले स्थानीय सरकार, सञ्चारकर्मी, कानुनी विज्ञ र नागरिक समाजबीच रचनात्मक संवाद गराई नागरिक स्वतन्त्रताको संरक्षणका लागि साझा प्रतिबद्धता निर्माण गर्ने लक्ष्यसमेत राखेको छ ।

तालिमका प्रशिक्षक प्रविण कुमार यादवले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विभिन्न विकृति फैलाउनुका साथै गलत सूचना र दुष्प्रचारको जोखिम बढाइरहेको बताए । युवाहरूलाई सामाजिक सञ्जालको सुरक्षित र जिम्मेवार प्रयोगबारे सचेत गराउँदै यस्ता विकृति न्यूनीकरणमा सक्रिय बनाउन तालिम उपयोगी हुने उनको भनाइ थियो ।

सम्बन्धित खबर